News Portal

रसुवागढी नाका खुलाउन गृहकार्य सुरु, नाका खोल्न चीनको सहमति

रातोपोस्ट संवाददाता
७६९ पटक

रसुवा । रसुवागढी नाका खुलाउने गरी आवश्यक गृहकार्य सुरु भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण गएको माघ १५ गतेदेखि औपचारिक रूपमा बन्द गरिएको नाका सञ्चालनमा ल्याउन लागिएको हो । सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालन ल्याउने निर्णय गरेको थियो । तर, चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रन सक्ने भन्दै स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आएको हो ।

चीनले हिजो नाका खोल्न सहमति दिएकाले केही दिनमा नै नाका सञ्चालनमा आउने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

नाका सञ्चालन नआउँदा तीन महिनादेखि राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ । नाका कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा दुवै देशका सीमा प्रशासनले निर्णय गर्नेछन् ।

नाका बन्द भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ काउन्टी प्रशासनले चार पटक सामग्री आयात गर्ने बाहेक नाकामा अन्य गतिविधि ठप्प छ । लामो समयदेखि नाका सञ्चालनमा आउन नसक्दा केरुङमा रहेका सामग्री बिग्रने अवस्थामा पुगेका व्यवसायीले बताएका छन् ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेम लगायतका सामग्री आयात हुने गरेको छ । त्यस्तै बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्