News Portal

  • अज्ञात समुहले उदयपुरमा बम विस्फोट

    रातोपोस्ट
    ६६९ पटक

    उदयपुर, १९ मंसिर । उदयपुरको कटारी नगरपालिका- ८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा बिहीबार राती बम विष्फोट हुँदा पाँच जना मजदुर घाइते भएका छन्। विष्फोटबाट उद्योगको खानी क्षेत्रमा रहेको बा.१.ख.७९९२ नम्बरको स्काभेटर, एक नम्बर नखुलेको मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ भने अन्य तीन वटा स्काभेटरमा क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले जानकारी दिए।

    खानीका कर्मचारी होम बस्नेतकाअनुसार राती करिब १२:१५ बजेको समयमा अज्ञात समुहले उद्योगको खानी क्षेत्रलाई लक्षित गरी राखेको बम बिष्फोट हुँदा भाग्नेक्रममा उनीहरु घाइते भएका हुन्। उनकाअनुसार राती सात जनाको टोली हल्लाखल्ला गर्दै आएर बम विष्फोट गराएका थिए। उनीहरुले खानीको स्काभेटरमा आगोसमेत लगाएको बताए। विष्फोटनबाट उद्योगमा कार्यरत कटारी नगरपालिका ८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडानं ७ का २३ वर्षीय नविन मगर, उदयपुरगढी गाउँपालिका- २ का २५ वर्षीय दुर्गा तामाङ्ग, मकवानपुर जिल्लाका ३० वर्षीय सागर मोक्तान, १८ वर्षीय शिवशंकर मोक्तान रहेको डिएसपी भण्डारीले बताए।

    उनीहरु सबैको अवश्था सामान्य छ। कटारी अस्पतालमा सामान्य उपचारपछि घर पठाइएको उनले बताए। मध्यरातमा चार वटा बम एकैसाथ पडकिदा मजदुरहरु भागाभाग भएको थियो। अन्य दुई वटा घटनास्थलमा शंकास्पद देखिएकाले नेपाली सेनाको टोलीलाई खवर गरेको उनले बताए।

    घटना लगत्तै डिएसपी भण्डारीको कमाण्डमा प्रहरी टोली परिचालन गरी एरिया नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए। बिस्फोटन भएको बम सुतली र सकेट हुन सक्ने प्रहरीको अनुमान छ। बम विस्फोटको कसैले जिम्मा लिएको छैन्। यसअघि ताप्लि गाउँपालिकालाई लक्षित गरी मंसिर ७ गते अज्ञात समुहले बम बिस्फोटन गराएको थियो। उक्त बमसमेत हालसम्म कसैले जिम्मा लिएको छैन्।

    जिल्लाको पहाडी क्षेत्रमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको सक्रियता रहेको छ। बम विस्फोटन कसले गर्यो भन्ने एकिन नभएपनि विप्लवले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ। यद्यपि अनुसन्धान जारी रहेको एसपी दाहालले बताए। अन्नपूर्ण पोस्ट

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)