News Portal

मेचीनगर- ८ को मेलमिलाप समितिले जग्गा मिलाइदिने भन्दै २० लाख धेरै रकम लिए पछि उजुरी

रातोपोस्ट संवाददाता
११६ पटक

मेचीनगर, २६ पुष । मेचीनगर नगरपालिका वडा नं ८ ले मेलमिलाप समितिलाई निलम्बन गरेसँगै यस घटनाले समग्र नगरमै तरंग ल्याएको छ ।वडाले गत आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै मेलमिलाप समितिलाई निलम्बन गरेको जानकारी दिएको थियो । ‘वडा नं ८ मेलमिलाप केन्द्रबाट भएका मेलमिलाप सम्बन्धी कार्य सम्पादनका सन्दर्भमा सामाजिक सञ्जालमा नकारात्मक विषयहरु उठान भएको र मेलमिलाप सम्बन्धी कार्यमा कार्यसम्पादनको मर्म भावना विपरीत व्यापक रुपमा जनगुनासा आइरहेको हुँदा अर्को निर्णय नहुन्जेलसम्मका लागि मेचीनगर वडा नं ८ को मेलमिलाप समितिलाई निलम्बन गर्दै आज उप्रान्त मेचीनगर वडा नं ८ को मेलमिलाप सम्बन्धी कार्य वडा जनप्रतिनिधिले आवश्यक्ता अनुकुल कार्य सम्पादन गर्ने’ वडाध्यक्ष गिरिराज धमलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एक विशेष स्रोतका अनुसार मेलमिलाप समितिमा आवद्ध सदस्यले एक स्थानको जग्गा हाल साविक गर्दै मिलाइदिने भनेर २० लाख भन्दा धेरै रकम लिएको उजुरी वडामा आएपछि वडा यस कदम चाल्न बाध्य भएको हो । स्रोतका अनुसार मेचीनगर नगरपालिका वडा नं ६ निवासी पदम कटुवालले यस विषयमा मेलमिलाप समितिका एक सदस्यविरुद्ध वडामा उजुरी दिएका छन् । पदम कटुवालको मेचीनगर–८ स्थित होटल मेची क्राउन उत्तरमा करिब ८ कठ्ठा जग्गा छ । काँकरभिट्टा माविसँग किनेको उनको जग्गा होटल मेची क्राउन परिसरमा समेत परेको छ । सोही जग्गालाई हाल साविक गर्दै एक विगाह भन्दा धेरै बनाइदिने र त्यस कार्यमा खर्च हुने आशयका साथ मेलमिलाप समितिका ती सदस्यले कटुवालसँग २० लाख ५० हजार रकम लिएको वडामा पठाएको उजुरीमा उल्लेख छ ।

यस सन्दर्भमा मेलमिलाप समितिका सदस्य समेत रहेका मेचीनगर–८ निवासी सुनिल ओलीविरुद्ध वडामा उजुरी परेको हो । उजुरीमा अन्यको नाम भने लेखिएको छैन । यस विषयमा बुझ्दा वडा नं ८ का वडाध्यक्ष धमलाले उजुरी परेको विषय स्वीकारेका छन् भने उक्त उजुरी नगरको न्यायिक समितिमा पठाइएको उनले जानकारी दिए । उनले वडाले मेलमिलाप समितिलाई निलम्बन नगरेको र निलम्बनका लागि नगरमा सिफारिस गरेको समेत स्पस्ट पारे ।

यो प्रकरणमा ओली बाहेक अन्य व्यक्तिसमेत जोडिएको आशंका गर्दै नगरको न्यायिक समितिले अनुसन्धान अघि बढाएको बताइएको छ । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले यस विषयमा छानविन भइरहेको र आवश्यक छानविन पछि सत्यतथ्य पत्ता लगाएर के गर्ने भन्ने निष्कर्षमा पुगिने बताइन् । ‘छानविन गरिरहेका छौं । बोलाएर सोध्ने, छलफल गर्ने त्यसपछि कारवाही गर्ने नगर्ने निष्कर्षमा पुग्छौं,’ नगरको न्यायिक समिति संयोजक समेत रहेकी उपप्रमुख उप्रेतीले भनिन् । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्