News Portal

मेचीनगर गोल्डकप : आयोजक काँकरभिट्टा फाइनलमा

रातोपोस्ट संवाददाता
३० पटक

मेचीनगर, २८ फागुन । पाँचौ मेचीनगर गोल्डकपको सेमिफाइनलबाट धरान एफसी बाहिरिएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग सडेन डेथमा ५–४ ले पराजित हुँदै धरान एफसी बाहिरिएको हो । फाइनल प्रवेश गरेसँगै आयोजकले नगद ५ लाख सुरक्षित गरेको छ । काँकरभिट्टा खेल मैदानमा निर्धारित समयमा दुवै टोलीबाट १–१ को बराबरी गोल भएपछि पहिलो सेमिफाइनलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा धरानका मिलन राई, सविन राई, प्रज्वल थापा, अजय विष्टले गोल गर्दा सुरज जिमी र रोमन लिम्बु भने चुके । सुरजको प्रहार बाहिँदा रोमनको प्रहारलाई काँकरभिट्टाका गोलकिपर विश्वास चौधरीले रोेकेका थिए । आयोजकका हेमन्त लिम्बू, दिवस उराउ, निशान लिम्बू, विवेक गुरुङ र फ्याङकलिन टालाले गोल गरे । अभिषेक गुरुङको प्रहार भने गोलमा परिणत हुन सकेन । अभिषेकको प्रहार पोलमा लागेर फर्कियो । त्यसअघि खेलको ३ औं मिनेटमा सुरज रसाईलीको गोलमार्फत धरानले अग्रता लिएको थियो । उनले कप्तान मिलन राईको पासलाई वान टचमै पोस्टको दिशा दिए ।

हेमन्त लिम्बुले ६९औं मिनेटमा काँकरभिट्टालाई बराबरीमा ल्याए । उनले विवेक गुरुङको कर्नरलाई हेडमार्फत जाली चुमाए ।
धरानले ८५औं मिनेटमा गोलका दुई अवसरलाई सुदुपयोग गर्न सकेन । सविन राईको प्रहार बारमा लागेर फर्किएको थियो । रिबाउन्डमा सुरजको प्रहार पनि बारमै लागेर बाहिरियो ।

काँकरभिट्टाले उपधिका लागि बिहीबार हुने चर्च ब्वाइज यूनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
काँकरभिट्टाले भारतको जर्जियन एफसीलाई ४–२ तथा धरानले उज्केकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् । झापा जिल्ला फुटबल संघ र मेचीनगर नगर खेलकुद विकास समितिको प्राविधिक सहयोग रहेको प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका संरक्षक तथा मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ ।

प्रतिकृया दिनुहोस्