News Portal

पाँचौ मेचीनगर गोल्डकप: अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

रातोपोस्ट संवाददाता
२४ पटक

झापा । झापाको मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत बिहिवार अन्तिम सेमिफाइनलकाे खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको आज हुने सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी चर्च ब्वाइज युनाइटेड काठमाडौं र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबिच प्रतिस्पर्धा हुँदै छ ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा दिउँसो ३ बजेदेखि काँकरभिट्टा खेल मैदानमा हुने खेलमा फाइनल पुग्नका निमित्त दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने छन् । आजको खेल जित्दा फाइनल प्रवेश संगै नगद पाँच लाख समेत सुरक्षित हुने हुँदा दुवै टिमले उपाधि आफ्नो पक्षमा बनाउने दाउमा रहनेछन् ।

चर्च ब्वाइजले यसअघि एनएसएलको तयारीमा रहेको झापा एफसीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको थियो । त्यस्तै मच्छिन्द्रले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौंलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलबाट धरान एफसी सुनसरीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनल प्रवेश गरिसकेको छ ।

फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।

झापा जिल्ला फुटबल संघ र मेचीनगर नगर खेलकुद विकास समितिकाे प्राविधिक सहयोग रहेको प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका संरक्षक तथा मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ ।

प्रतिकृया दिनुहोस्