News Portal

मेलमिलाप समिति निलम्बित घट्नाः के गरिरहेको छ नगरको न्यायिक समिति ?

रातोपोस्ट संवाददाता
१७० पटक

मेचीनगर । केही समय अघि मेचीनगर नगरपालिका वडा नं ८ को मेलमिलाप समितिको सन्दर्भमा एउटा गम्भीर वास्तविकता बाहिर आयो । एक स्थानको जग्गालाई हालसाविक गरी मिलाइदिने भन्दै मेलमिलाप समितिले अवैध रुपमा लाखौं रकम लिएको विषय सार्वजनिक भएको थियो ।

वडाले मेलमिलाप समितिलाई निलम्बन नै गर्यो । वडामा उजुरी पर्यो, उजुरी नगरको न्यायिक समितिमा सिफारिस पनि गर्यो वडाले । मेलमिलाप समिति निलम्बनमा परेसँगै यस घटनाले समग्र नगरमै तरंग समेत ल्यायो । मेलमिलाप समितिमा आबद्ध सदस्यले एक स्थानको जग्गा हालसाविक गर्दै मिलाइदिने भनेर २० लाख भन्दा धेरै रकम लिएको उजुरी वडामा आएपछि वडाले यो कदम चालेको थियो । मेचीनगर नगरपालिका वडा नं ६ निवासी पदम कटुवालले यस विषयमा मेलमिलाप समितिका एक सदस्यविरुद्ध वडामा उजुरी दिएका थिए । पदम कटुवालको मेचीनगर–८ स्थित होटल मेची क्राउन उत्तरमा करिब ८ कठ्ठा जग्गा छ ।

काँकरभिट्टा माविसँग किनेको उनको जग्गा होटल मेची क्राउन परिसरमा समेत परेको छ । सोही जग्गालाई हाल साविक गर्दै एक विगाह भन्दा धेरै बनाइदिने र त्यस कार्यमा खर्च हुने आशयका साथ मेलमिलाप समितिका ती सदस्यले कटुवालसँग २० लाख ५० हजार रकम लिएको वडामा पठाएको उजुरीमा उल्लेख थियो । यस सन्दर्भमा मेलमिलाप समितिका सदस्य समेत रहेका मेचीनगर–८ निवासी सुनिल ओलीविरुद्ध वडामा उजुरी परेको थियो । उक्त उजुरी त्यसबेलै नगरको न्यायिक समितिमा वडाले पठाएको थियो । तर, उजुरी नगरमा आएपछि नगरको न्यायिक समितिले के गरिरहेको छ ? किन चुपचाप छ नगर ? कतै यस विषय यसै गुपचुप बनाउने कार्य भइरहेको त छैन ? आम नागरिकमा आशंका पैदा भइरहेको छ ।

मेचीनगर नगरपालिका वडा नं ८ वडाध्यक्ष गिरिराज धमला यस सन्दर्भमा नगरको न्यायिक समितिले अनुसन्धान गरिरहेको बताउँछन् । ‘वास्तविकता बुझ्ने क्रम जारी छ । अनुसन्धान भइरहेको छ । न्यायिक समितिले अनुसन्धान गरिरहेको छ,’ उनी भन्छन् । यसैगरी, नगरको न्यायिक समिति संयोजक समेत रहेकी उपप्रमुख मीना पोखरेल उप्रेती पनि अनुसन्धान जारी रहेकाले अब चाँडै निष्कर्षमा पुगिने बताउँछिन् ।

यस सम्बन्धमा एक दुई चरण छलफल भइसकेको र फेरि पनि छलफलको माध्यमबाट निष्कर्षमा पुगिने उनको भनाई छ । ‘एक दुई दिन भित्रमै निर्णयमा पुग्ने गरी अघि बढेका छौं । छिट्टै निष्कर्षमा पुग्छौं,’ उनले भनिन् । यसअघि निलम्बनमा परेको वडा नं ८ को मेलममिलाप समितिको निलम्बन फुकुवा भने भएको छैन । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्