News Portal

पूर्वी नेपाललाई चिनाउन मेचीनगर गोल्डकपको लोगो ‘हात्तीको मस्कट’

रातोपोस्ट संवाददाता
२७९ पटक

मेचीनगर । देशकै पूर्वी सिमावर्ती सहर काँकरभिट्टामा आयोजना हुन लागेको ‘मेचीनगर गोल्डकप’को लोगोमा हात्तीको मस्कट समावेश गरिएको छ । आयोजकले शनिबार काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित एक कार्यक्रम मार्फत गोल्डकपको लागो सार्वजनिक गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), कोशी प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य एवम् गोल्डकप मुल आयोजक समिति संयोजक श्रीप्रसाद मैनाली, गोल्डकप आर्थिक समिति संयोजक विमल आचार्यलगायतका अतिथिले लोगो तथा गोल्डकपको ब्यानर सार्वजनिक गरेका हुन् ।

लोगोमा हात्तीको मस्कट प्रयोग गरिएको छ भने मस्कटको निलो पृष्ठभूमिमा मेचीनगरको भूगोल समेटिएको छ भने छेउमा चन्द्र सूूर्यको नक्सा समावेश छ । हात्ती पूर्वी नेपालकै पहिचानका रुपमा स्थापित छ । जंगली हात्तीकै कारण मेचीको तिरमा रहेका पूर्वका गाउँ, सहर देश विदेशमा परिचित छन् । देशको नीति निर्माण गर्ने थलो संसदमा समेत जंगली हात्तीको विषय सँधै उठिरहन्छ । यी समग्र विषयलाई समेटेर हात्तीलाई खेलसँग जोड्दै पूर्वी नेपालको चिनारी स्थापित गर्न लोगोमा हात्तीको मस्कट समावेश गरिएको जनाइएको छ ।

लोगो, गोल्डकपको व्यानर तथा जिङ्गल सार्वजनिक कार्यक्रमको अवसरमा बोल्दै जिल्ला फुटबल संघ अध्यक्ष आलेले छोटो समयका बीच आयोजित गोल्डकप सफल बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । मुल आयोजक समितिका कोषाध्यक्ष गंगालाल गुरुङले आजीवन सदस्य, संस्थापक सदस्यमार्फत आर्थिक सहयोग संकलनको कार्य अघि बढाइएको बताए । आजीवन सदस्य बन्न १० हजार रुपैयाँ बुझाउनु पर्ने आयोजकले जनाएको छ । जसको लागि तीन सय बढीले नाम दर्ता गराइसकेको जानकारी दिइएको छ ।

गोल्डकपमा सहभागी टिमको सन्दर्भमा चर्ज ब्वाइज काठमाण्डौं र एनआरटी, मोरङ, भुटान, सिक्किम लगायतका टिमसँग सहभागिताको विषयमा समन्वय भइरहेको आयोजकले बताएको छ । आयोजक संस्थाका सल्लाहकार समिति संयोजक समेत रहेका गुरुङका अनुसार पूर्व राष्ट्रिय खेलाडी मीन बस्नेत संयोजक रहने गरी झापा जिल्ला फुटबल संघ अध्यक्ष आले र महासचिव शेरबहादुर बस्नेत (सुन्दर) सदस्य रहेको तीन सदस्यीय टिम व्यवस्थापन समिति निर्माण गरिएको छ । गोल्डकप सम्पन्न गर्न अन्य विभिन्न उपसमितिहरु समेत तय गरिएको छ ।

सो अवसरमा प्रमुख अतिथि नगर प्रमुख बुढाथोकी, मुल आयोजक समिति संयोजक मैनाली, सह–संयोजक आचार्यलगायतले गोल्डकप उल्लासका साथ सम्पन्न हुने विश्वास ब्यक्त गर्दै सहयोग गर्न सरोकारवाला सबैमा आग्रह गरे । कुल ८० लाख नगद खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजकमार्फत नगद १५ लाख एवम् सह–प्रायोजकमार्फत नगद ३ लाख प्राप्त हुने सोअवसरमा जानकारी दिइयो ।

गोल्डकपको संरक्षक रहेको मेचीनगर नगरपालिकाले नगद २५ लाख उपलब्ध गराउने जनाएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको गोल्डकप फागुन २१ देखि २८ गतेसम्म काँकरभिट्टा खेलमैदानमा संचालन हुँदैछ । नगर प्रमुख बुढाथोकीको प्रमुख आतिथ्यता एवम् गोल्डकप मुल आयोजक समिति संयोजक मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली तथा सञ्चालन मुल आयोजक समिति सचिव राजु कार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्