News Portal

दसैं टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

रातोपोस्ट संवाददाता
८०१ पटक

काठमाडौँ ,१० कात्तिक । बडादशैँको आज मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने प्रचलन छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशमीका दिन देवी विसर्जनको साइत बिहान १०:११ बजे रहेको जनाएको छ । देवी विसर्जनपछि टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०:१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम पर्किनु राम्रो हुने गौतमको भनाइ छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने बताइन्छ ।

दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गरिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने विश्वास छ । दशमीमा मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडाददसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

प्रतिकृया दिनुहोस्