News Portal

आईपीएल : हैदराबादमाथि कोलकाताको जित

रातोपोस्ट संवाददाता
५२२ पटक

काठमाडौं, असोज ११ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदरावादमाथि कोलकत्ता नाइट राइडर्सले ७ विकेटको फराकिलो जित हात पारेको छ। आबुधाबीमा शनिबार राति हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो।

कोलकत्ताका शुभमन गिलले अविजित रहदै ७० रन जोडे। उनले ६२ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए। हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १/१ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले मनिस पाण्डेको अर्धशतकीय मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। पाण्डेले ३८ बलमा ३ चौका र २ छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान डेभिड वार्नरले ३६ र ऋद्धिमान साहले ३० रन जोडे। कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए ।

दुई खेल खेलेको कोलकत्ताको यो पहिलो जित हो । यसअघि कोलकत्ता मुम्बई इन्डियन्ससँग पराजित भएको थियो। हैदराबादको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएको थियो।

प्रतिकृया दिनुहोस्