News Portal

सन्दीपले यस संस्करणको बिग ब्यास लिग होबार्टबाट खेल्‍ने

रातोपोस्ट संवाददाता
९४१ पटक

काठमाडौं, ४ मङ्सिर । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बिग ब्यास लिग (बिबिएल) क्रिकेटको यस संस्करणमा होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।

यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि नयाँ टोलीको खोजी भइरहेकामा होबार्ट हुरिकेन्सबाट खेल्ने पक्का भएको हो । होबार्टले बिहीबार औपचारिक रुपमा सन्दीपलाई तेस्रो अन्तर्राष्ट्रिय साइनिङका रुपमा सार्वजनिक गरेको छ ।

सन्दीपले बिग ब्यासको सुरुवाती खेल भने गुमाउने छन् । उनी नेपालबाट बिग ब्यास लिग खेल्ने डिसेम्बर दोस्रो साता अस्ट्रेलियातर्फ जानेछन् । बिग ब्यास आगमी डिसेम्बर १० देखि सुरु हुँदै छ । अष्ट्रेलिया सरकारको कोरोना नियम अनुसार दुई हप्ता क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । बिबिएलको पहिलो खेलमा होबार्टले सिड्नी सिक्सर्ससँग खेल्ने छ । डिसेम्बरमा होबार्टले कुल ६ खेल खेल्ने छ । सन्दीपले कम्तिमा चार खेल गुमाउने छन् ।

गतवर्ष सन्दीपले मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । उक्त उत्कृष्ट प्रर्दशनले यस पटक पनि सन्दीपले मेलबर्न स्टार्सबाटै खेल्ने धेरैले आशा गरेका थिए । तर स्टार्सले सम्झौता नविकरण गरेन । मेलबर्न स्टार्सले यस पटक सन्दीपको स्थानमा अफगानिस्तानका स्पिनर जाहिर खानलाई टोलीमा अनुबन्ध गरेको छ । स्टार्सले वेस्टइन्डिजका निकोलस पुरन र इंग्ल्यान्डका जोनी बेयरस्टोसँग पनि सम्झौता गरेको छ ।

होबार्टले विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिका कोलिन इनग्राम, इंग्ल्यान्डका विल ज्याक्स, डेविड मलान र वेस्टइन्डिजका युवा अलराउन्डर किमो पलले सम्झौता गरि सकेका छन् । कप्तान म्याथ्यु वेड रहँदा पिटर ह्यान्ड्सकम्ब र डार्सी सट जस्ता चर्चित खेलाडी होबार्टमा छन् ।

सिंगापुरका युवा स्टार ब्याट्सम्यान टिम डेभिड पनि होबार्टबाट बिग ब्यास लिग खेल्ने छन् । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए ।

प्रतिकृया दिनुहोस्