News Portal

उपभोक्ताको हितमा काम गर्नेछु : अध्यक्ष रोहित बुढाथोकी

रातोपोस्ट संवाददाता
१७१ पटक

झापा, २३ जेठ । ‘मिनी चुनाव’को रुपमा हेरिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन यहि जेठ २६ गते हुदैँछ । लोकतान्त्रिक, प्रगतिशील साझा प्यानलका उमेद्वारहरु मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन् भने आम उपभोक्तामा पनि यतिबेला नेतृत्वमा कसलाई चुन्ने भन्ने विषयमा छलफल भइरहेको पाइन्छ । मेचीनगरका राजनीतिक दलहरुको प्रतिष्ठासँग जोडिएकाले संस्थाको नेतृत्व सम्हाल्न उमेद्वारहरुले ठुलै कसरत गरिरहेका छन् । जुन कसरत अहिले जारी छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाे ५ दलिय गठबन्धनकाे तर्फबाट लोकतान्त्रिक, प्रगतिशील साझा प्यानलका अध्यक्ष उम्मेद्वार राेहित बुढाथाेकीसँग गरिएकाे चुनावी कुराकानी ।

तपाईं चुनावी मैदानमा होमिनु भएको छ । यसलाई कसरी लिनु भएको छ ?

खानेपानीको निर्वाचन एउटा स्वभाविक प्रक्रिया हो । यो सामाजिक कार्य गर्ने एउटा महत्वपूर्ण ठाउँ पनि हो । नेतृत्व परिवर्तनको यो घडीमा संस्थालाई बुझेको र संस्था हाक्न सक्ने व्यक्ति त्यहाँ पुग्न जरुरी छ । मैले आफूलाई त्यही हिसाबले बुझेको छु । हाम्रो सिंगो टिम एकताबद्ध भएर मतदाताको घर दैलोमा पुगीरहेको छ । हामी पार्टीगत रुपमा सहभागी भएपनि पार्टीभन्दा माथि उठेर काम गर्नेछौं ।

खानेपानीका चुनौतिहरु के के छन् ?

–संस्थामा धेरै किसिमका चुनौतिको सम्भावना देखेको छु । पुरानो संस्था भएपनि क्षेत्र विस्तार हुँदै सात वडा वडामा पुगेको छ । टेङ्की समेत विस्तार भएका छन् । तर, सबै जनताले खानेपानी पाउन सकेका छैनन् । आर्थिक रुपमा सवल अनि विपन्न परिवारलाई समेत खानेपानी उपलब्ध गराउनु पर्ने दायित्व संस्थाको छ । अर्काेतर्फ बारम्बार कालोपानी आउने समस्या छ । त्यसको समेत दिगो समाधान खोज्नु छ । यतिखेर सडक विस्तारको क्रममा छ । सडक विस्तार गर्दा धेरै पाइपहरु काटिने फुट्ने सम्भावना समेत छ । आर्थिक रुपमा कमजोर विपन्न परिवारलाई खानेपानीको पहुँच पुर्याउने काम हाम्रा सामु छ । त्यसको समेत सही व्यवस्थापन गर्न जरुरी छ । यी सबैखाले चुनौतिलाई समाधान गर्दै हामी अघि बढ्नेछौं ।

तपाईंका चुनावी एजेण्डा के के छन् ?

–स्वच्छ र सर्वसुलभ खानेपानी निरन्तरता हाम्रो प्रतिबद्धता हो । स्वस्थ जीवन जिउन स्वच्छ खानेपानी वितरण गर्नेछौं । संस्थामा लामो समयदेखि ऋण भार बढी रहेको छ । त्यसलाई समेत विभिन्न श्रोतको खोजीगरी ऋण भार घटाउने हाम्रो अर्काे लक्ष्य छ । उपभोक्तालाई समेत सर्वसुलभ पानी वितरण गर्नेछौं ।

तपाईंले आफ्नो प्रतिष्पर्धीलाई कसरी हेर्नु भएको छ ?

–मैले अघि पनि भने, निर्वाचन स्वभाविक प्रक्रिया हो । चुनाव स्वस्थ प्रतिष्पर्धाबाट हुनुपर्छ । सबै निकटतम साथीभाइहरु चुनावी मैदानमा हुनुहुन्छ । उहाँहरु सबैले मलाई सम्मान गर्नु हुन्छ । मलाई आदर गर्नु हुन्छ । त्यसैले मैले उहाँहरुलाई होच्याउने, नराम्रो भन्न मिल्दैन । म पनि उहाँहरुलाई सम्मान गर्छु ।

खानेपानी उपभोक्ता समितिलाई मेचीनगरले प्राधिकरण बनाउने कुरा छ नि, तपाईंको बुझाइमा के यो सकारात्मक कार्य हो ?

–खासगरी यो राज्य पक्षले नै गर्ने काम हो । स्थानीय सरकारले सम्पूर्ण नगरवासीलाई सर्वसुलभ ढंगबाट स्वच्छ खानेपानी उपलब्ध गराउन सके राम्रै सन्देश जाला । तर, राज्य पक्षले यो काम गर्न सक्ने अवस्था देखिँदैन । उपभोक्ता समिति मार्फत जुन प्रकारको प्रभावकारी सेवा उपभोक्ताले पाउँछन् । सरकारको स्वामित्वमा आएपछि ढिलासुस्ती हुन सक्छ । यो विषयलाई बुझेर स्थानीय सरकारले प्राधिकरणमार्फत प्रभावकारी सेवा दिने आँट गरेर अघि बढ्यो भने पनि त्यसलाई सहज रुपमा लिनुपर्छ । तर, सेवा प्रभावकारी हुनुपर्छ । सम्पूर्ण नगरबासी सर्वसुलभ ढंगले पानी खान पाउनु पर्छ ।

तपाईंको जित्ने आधार के के छन् ?

–मैले विभिन्न संघ–संस्थामा बसेर कुशलतापूर्वक काम गरिसकेको छु । आर्थिक पारदर्शीताको विषयमा म सजक छु । मेरो कामलाई नजिकबाट नियाल्नु हुने साथीहरुले मलाई नेतृत्वमा अघि बढाउनु भएको छ । सिंगो प्यानलको मात्र नभएर शुभेच्छुक साथीहरुले मत दिने विश्वास दिलाउनु भएको छ । त्यसैले जीत सुनिश्चित छ भन्ने लागेको छ ।

अन्त्यमा केही भन्नु छ ?

म भाषणबाजी भन्दा पनि काममा विश्वास गर्ने मान्छे हुँ । मिठा र चिप्ला भाषणकला मैले जानेको छैन । तर, म जे कामका लागि अघि बढ्छु त्यो काम सफलतापूर्वक पुरा गर्ने मेरो बानी छ । तपाईंहरुकाे एक–एक मतको सम्मान गर्नेछु । म लगायत हाम्रो सिंगो टिमलाई विजयी गराइदिनु हुन सम्पुर्ण मतदाताहरुमा हार्दिक अनुराेध गर्दछु ।

प्रतिकृया दिनुहोस्