News Portal

धुलबारीमा आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम

रातोपोस्ट संवाददाता
४२ पटक

झापा, ७ असार । झापामा पछिल्लोसमय आत्महत्या गर्नेको संख्या बढेर समाजमा विकराल रुप लिन थालेपछि यस्ता घटना हुन नदिन विभिन्न पक्षबाट अनेकन प्रयास थालिएको छ । सोही क्रममा धुलाबारीस्थित सञ्जीवनी महिला विकास संस्थाले पनि आत्महत्या न्यूनीकरण गर्न बुधवारबाट समुदायलक्षित सचेतना कार्यक्रम अघि बढाएको छ ।

आत्महत्यासम्बन्धी घटना कम गर्ने अभिप्रायले उक्त संस्थाले विद्यार्थी र अभिभावकलाई लक्षित गरी तीन दिवशीय प्रशिक्षणमूलक कार्यक्रमको थालनी गरेको हो । धुलाबारी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले उत्सुकतापूर्वक भाग लिएका सो कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् ।

त्यसक्रममा प्रमुख अतिथि बुढाथोकीले मान्छेलाई आफूले आफैंलाई मार्ने तहसम्म पुग्न नदिन सचेतनासहितका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न भावी दिनमा पालिकाले बजेट नै विनियोजन गर्ने बताए । त्यस्तै, आयोजक संस्थाकी अध्यक्ष रेनुका डाँगीले समाजलाई जागरुक बनाउन सचेतनामूलक कार्यक्रमको अवधारणा ल्याएर प्रशिक्षण कार्यक्रम शुरु गरिएको बताइन् । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा शुरु कार्यक्रम धुलाबारी, चारआली र बाहुनडाँगीमा सञ्चालन हुने संस्थाकी सचिव निर्मला काफ्लेले जानकारी दिइन् । सो कार्यक्रमको सहजीकरण धरान उपमहानगर पालिकाकी मनोसामाजिक परामर्शदाता लीला थापाले गरिरहेकी छन् ।

प्रतिकृया दिनुहोस्