News Portal

इङग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा

रातोपोस्ट संवाददाता
३७५ पटक

काठमाडौं, २४ असार । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो। ​ योससँगै इंग्ल्यान्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो। इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे। इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो।

रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो। ३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो। इंग्ल्यान्डका बुकायो साकाको क्रसमा उनले आफ्नै पोस्टमा गोल गरेका थिए।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए। उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन्।

रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो। जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए। तर, रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गरे।​ इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ ।

प्रतिकृया दिनुहोस्