News Portal

शिवसताक्षीमा आमा र दुई नाबालक छोरा घरभित्रै मृत भेटिए

रातोपोस्ट संवाददाता
१०३ पटक

झापा, ३२ जेठ । झापाको शिवसताक्षी नगरपालिका-३ स्थित पाराबारीमा एकजना आमा र उनका दुई जना नाबालक छोराहरू घरभित्रै मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष घरभित्रै मृत भेटिएका हुन् । केसीका अनुसार आमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । उनका दुईजना छोरा भने ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन् ।

घरभित्र बान्तासमेत गरेको देखिएकाले विषादीसमेत प्रयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।घरभित्र विषादीको गन्धसमेत आइरहेकाले आमाले छोराहरूलाई विषादी खुवाएर आफू झुन्डिएको आशंका प्रहरीको छ ।

अहिले त्यहाँ प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली पुगेर अनुसन्धान थालिसकेको छ । अञ्जलीका पति वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको प्रहरीले जनाएको छ । अनुन्धानको प्रारम्भिक चरणमा रहेकाले घटनाको कारणबारे केही खुल्न नसकेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्