News Portal

भद्रपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

रातोपोस्ट संवाददाता
३१ पटक

झापा, ६ असार । झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नगरप्रमुख गणेश पोखरेलको अध्यक्षता, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाको विशेष आतिथ्य र वडाअध्यक्ष, सदस्य,कार्यपालिका सदस्य तथा कर्मचारी शाखा प्रमुखहरूको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

झापा जिल्ला समन्वय समितिको सभाकक्षमा भएको सार्वजनिक सुनुवाइमा १० वटै वडाका अध्यक्षहरू र सदस्यहरूले आ–आफ्ना वडामा भए गरेका काम, नगरपालिकाले गरेको विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, शीत भण्डार, जिपी भवन, सडक, पुल, नाली लगायतका बारेमा उपस्थित नगरवासीहरुले प्रश्न राखेका थिए भने नगरप्रमुख पोखरेल, उपप्रमुख कार्की, प्रमुख प्रशासकीय अधिकृत निरौलाले जवाफ दिएका थिए ।

खासगरी नगरवासीले भद्रपुर बिर्तामोड सडक बन्न नसकेको, बिसौँ वर्षदेखि शीत भण्डार सञ्चालन हुन नसकेको, पृथ्वीनगरमा खानेपानीको समस्या समाधान नभएको, दशक बितिसक्दा पनि गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण अलपत्र परेको, स्वास्थ्य संस्थाहरूले राम्रो सेवा नदिएको, शिक्षा गुणस्तरीय नभएको, सिमानामा प्रहरीले पारीबाट घरायसी सामान ल्याउँदा पैसा माग्ने गरेको जस्ता गुनासा राखेका थिए ।

जवाफमा नगरप्रमुख पोखरेलले नगरबाट हुने काम आउँदो बजेटमा राखेर सम्बोधन गर्ने र नगरले गर्न नसक्ने कामका लागि प्रदेश र सङ्घीय सरकार समक्ष आग्रह गर्ने प्रतिबद्धता प्रकट गरेका छन् । विजय तिम्सिनाले सञ्चालन गरेको कार्यक्रमको प्रश्न उत्तरकै क्रममा केही बेर हङ्गामा भए पनि त्यसलाई सम्हालेर जारी सुनुवाइमा नगरप्रमुख पोखरेल र प्रमुख प्रशासकीय अधिकृत निरौलाले नगरले गर्न सक्ने काम गर्ने प्रतिबद्धता प्रकट गरेका थिए ।

प्रतिकृया दिनुहोस्